काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा साधुसन्तहरूको चहलपहल देखिएको छ । शिवरात्री पर्व लक्षित हरेक वर्ष भारतबाट उल्लेख संख्यामा जोगिहरू पशुपति आउने गरेका छन् ।
यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको र भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साज–सजावट व्यवस्थापन उपसमितिका संयोजक पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो ।
यस पटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तको लागि हंसमण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिने र त्यहाँ संरचना निर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका कोषध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।
यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गरिने छ । २०७८ सालको महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा लिइएका तस्वीरहरू यहाँ हामीले प्रस्तुत गरेका छौँ ।
तस्विर : विवेक सापकोटा










