Logo

कक्षा १२ को परिक्षा दशैँ अगाडि गर्ने तयारी : होमसेन्टर वा विद्यालयमा नै हुन सक्ने
पत्रपत्रिका

dakshya khabar ५ भाद्र २०७८, शनिबार ०८:४९ मा प्रकाशित

काठमाडौं,भदौ ५ । कक्षा १२ को परीक्षा स्थगित गरेपनि अब कसरी र कहिले सञ्चालन गर्ने अन्यौल छ ।

शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड यसबारे निर्णय लिने तयारी गरिरहेको छ । बोर्डले दशैं अगावै परीक्षा गर्ने तयारी गरेको छ । विद्यार्थीलाई कोरोना भाइरसको खोप दिएलगत्तै परीक्षा गर्ने तयारी भएको हो ।

आज प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले कक्षा १२ को परीक्षा पुनः सञ्चालन गर्न सरकारलाई सुझाव दिएका छन् । उनीहरुले यसअघि परीक्षा स्थगित गरेको भन्दै सरकारको आलोचना समेत गरे ।

कोरोना भाइरसको संक्रमण बढेको भन्दै साउनको अन्तिमबाट सुरु गर्ने भनिएको परीक्षा स्थगित गरिएको थियो ।

सीसीएमसीको सिफारिश निर्देशन अनुसार बोर्डले परीक्षा रोकेको थियो । त्यसबाट लाखौं विद्यार्थी प्रभावित भए । परीक्षाका लागि तयार भइसकेका विद्यार्थीहरु निराश भए ।

अब सरकारले परीक्षा दिने विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिएर परीक्षा सुचारु गर्ने तयारी गरेको छ । तर, परीक्षा आफू अध्ययन गरेको विद्यालयबाटै हुने या अन्य सेन्टरबाट गर्ने अन्यौल छ ।

आज समितिमा पूर्वशिक्षामन्त्री समेत रहेका सांसद गिरिराजमणि पोखरेलले जनस्वास्थ्यको मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न निर्देशनको सुझाव दिए । उनले विद्यार्थीको भविष्यलाई अन्यौलमा नराख्न भने ।

सांसद जीवनराम श्रेष्ठले पनि परीक्षा तत्काल सञ्चालन गर्न जोड दिए । उनले मापदण्ड तोकेर परीक्षा तत्काल सञ्चालन गर्न सुझाव दिए । सांसद मानबहादुर विश्वकर्माले पनि विद्यार्थीलाई गृह जिल्लामै होमसेन्टर दिएर परीक्षा सञ्चालन गर्न सुझाव दिए ।

सांसदहरुको सुझावसमेतलाई ध्यानमा राखेर परीक्षा चाँडै गर्ने तयारी चलिरहेको बुझिएको छ । असोजको सुरुमै परीक्षा गर्ने गरी तयारी भइरहेको विश्वस्त स्रोतले जानकारी दियो । यो समाचार रिपोटर्स नेपालमा प्रकाशित छ ।

कक्षा १२ को परीक्षा शिक्षा

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार