काठमाडौं,मंसिर २३ । विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालकी सिर्जना घिसिङले ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् ।
साउदी अरेबियाको रियादमा आयोजित प्रतियोगितामा बिहीबार राति सिर्जनाले ५२ केजीमुनी के–४४ क्याट्गोरीमा स्वर्ण पदक जितेकी हुन् । नेपालको लागि विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा यो पहिलो स्वर्ण हो । सिर्जनाले पारा तेक्वान्दोको नम्बर एक वरीयतामा रहेकी टर्कीकी मेर्येम बेटुल काभडारलाई १२–० अंकले पराजित गरेकी हुन् ।
सिर्जनाले सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तोलाई पराजित गरेकी हुन् भने, क्वाटरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोमाथि जित निकालेकी थिइन् । सिर्जनाले एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा पनि रजत पदक जितेकी थिइन् ।

विश्व वरीतामा शीर्ष १६ मा पर्ने पारा तेक्वान्दो खेलाडीले यस प्रतियोगितामा सहभागी हुने अवसर पाएको हुन् । विश्व वरीयतामा सिर्जना १४औँ स्थानमा छिन् । सिर्जनासँगै नेपालीकी पलेशा गोबर्द्धनले पनि प्रतियोगितामा सहभागी भएकी थिइन् । ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशा क्वाटफाइनलबाट बाहिरिएकी छिन ।
इन्टरनेसनल लेभर–२ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेजी लामाको प्रशिक्षणमा रहेका सृजना र पलेशाले प्रतियोगितामा भाग लिएको हाे । खेलाडीको वरीयतामा सुधारको लागि पनि यो प्रतियोगिता महत्त्वपूर्ण भूमिका खेल्नेछ । विश्व वरीयातामा शीर्ष ६ मा भएका खेलाडी पेरिस पारा ओलम्पिकमा स्वत: खेल्ने पाउने प्रावधान रहेको छ ।
विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स


